काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २५ जना सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने १६५ जनालाई कारबाही गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदी का अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १०५ जना र एकतर्फी सडकमा सवारी चलाउने ११७ जनासमेत कारबाहीमा परेका छन्।
यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १२८ जनासहित कुल दुई हजार २५ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक नियमको पालना गराउन नियमित अनुगमन र कारबाही अभियान जारी रहेको कार्यालयले जनाएको छ।






