निर्वाचन ७ दिन बाँकीः कानुनले निषेध गतिविधि गरेकाे पाइए तत्कालै कारबाही

काठमाडौं — निर्वाचन आयोगले निर्वाचन अवधिमा निषेध गरिएका गतिविधि हुन नदिन र उल्लंघन भए तत्काल कानुनी कारबाही गरी जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचार–प्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गराउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन आग्रह गरेको जनाएको छ।

उल्लंघन गर्नेलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरिने उल्लेख छ।

मतदानको मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आयोगले आग्रह गरेको छ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन र पास प्राप्त बाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइनेछ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् रहनेछन्। टिकट भएका यात्रुले सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गरी विमानस्थल आवतजावत गर्न पाउने व्यवस्था मिलाइने आयोगले जनाएको छ।

मतदानका लागि मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात अनिवार्य साथमा लिनुपर्ने सूचनासमेत आयोगले जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *