काठमाडौँ । नेपाली महिला फुटबलको अग्रपंक्तिमा रहेकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारमा संस्थागत साथ जुट्न थालेको छ। कृषि विकास बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसडरसमेत रहेकी सावित्रा भण्डारीको घुँडाको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
खेलका क्रममा लागेको गम्भीर चोटपछि शल्यक्रिया अनिवार्य बनेको र त्यसपछिको लामो पुनःस्थापनाका लागि आर्थिक व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै भण्डारीले सार्वजनिक रूपमा सहयोगको अपिल गरेकी थिइन्। त्यसलगत्तै बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।
राष्ट्रिय टोलीको नेतृत्व सम्हालिरहेकी खेलाडीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदान फर्किएको देख्न पाइने अपेक्षा पनि बैंकले राखेको छ। साम्बा कृषि विकास बैंक लिमिटेडकी ब्राण्ड एम्बेसडर पनि हुन्।







