काठमाडौं । जीवन बीमा व्यवसायमा स्थायित्वको सूचक मानिने नविकरण बीमा शुल्क चालु आर्थिक वर्षको सात महिनामा उल्लेख्य बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीले माघ मसान्तसम्म ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ नविकरण शुल्क उठेको थियो।
नयाँ व्यवसाय विस्तारसँगै पुराना पोलिसीहरू निरन्तर नवीकरण हुने दर बढ्दा कम्पनीहरूको आम्दानी आधार फराकिलो बन्दै गएको देखिन्छ। जीवन बीमामा दीर्घकालीन अनुशासन र ग्राहकको भरोसा दुवै पक्ष सबल बन्दा नविकरण शुल्क स्थिर रूपमा उकालो लागेको हो।
कम्पनीगत विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ। उसले २२ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ नविकरण शुल्क संकलन गरेको छ। त्यसपछि एलआईसी नेपालले १० अर्ब १० करोड २ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ उठाएका छन्। हिमालयन लाइफ इन्स्योरेन्सको नविकरण शुल्क ९ अर्ब ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ। यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ९६ करोड ३२ लाख, एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब २५ करोड २७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २१ करोड ९९ लाख र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ नविकरण शुल्क आर्जन गरेका छन्।
त्यसैगरी, यस अवधिमा मेट लाइफ नेपालले २ अर्ब ८२ करोड ९९ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ५० करोड ८५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६१ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड ६३ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क संकलन गरेका छन्। प्रतिशत वृद्धिको हिसाबले भने राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन्।







