काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २० वाणिज्य बैंकका ऋणीले कुल २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१३ प्रतिशतले कम हो। गत आवको पुससम्म ऋणीले २ खर्ब ५४ अर्ब २ करोड ९२ लाख रुपैयाँ ब्याज तिरेका थिए।
बैंकबाट व्यक्तिगत, सवारीसाधन, घरजग्गा तथा व्यावसायिक प्रयोजनका लागि लिएको कर्जाबापत उक्त ब्याज तिर्नुपरेको हो।
ब्याज आम्दानीका आधारमा हेर्दा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। यस बैंकले पुससम्म २० अर्ब ८ करोड ७० लाख रुपैयाँ ब्याज संकलन गरेको छ। त्यसैगरी नबिल बैंक ले १९ अर्ब २० करोड ८ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले १६ अर्ब १३ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।
यस्तै, कुमारी बैंक ले १५ अर्ब १७ करोड ५८ लाख रुपैयाँ ब्याज उठाउँदा राष्ट्रिय वाणिज्य बैंक ले १४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ। लक्ष्मी सनराइज बैंक ले १२ अर्ब ८२ करोड र एनआईसी एशिया बैंक ले १२ अर्ब ३ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।
त्यसैगरी हिमालयन बैंक ले ११ अर्ब ८१ करोड १७ लाख, प्रभु बैंक ले ११ अर्ब ७२ करोड ६५ लाख, प्राइम कमर्सियल बैंक ले ११ अर्ब २१ करोड ८४ लाख र एनएमबी बैंक ले १० अर्ब ६५ करोड ३५ लाख रुपैयाँ ब्याज संकलन गरेका छन्।
कृषि विकास बैंक ले १० अर्ब ४६ करोड ५ लाख, सिद्धार्थ बैंक ले १० अर्ब ४३ करोड १२ लाख, नेपाल बैंक लिमिटेड ले १० अर्ब ३७ करोड ७६ लाख र एभरेष्ट बैंक ले १० अर्ब १७ करोड ८० लाख रुपैयाँ ब्याज उठाएका छन्।
त्यसैगरी सानिमा बैंक ले ८ अर्ब ४६ करोड ६३ लाख, सिटिजन्स बैंक इन्टरनेसनल ले ७ अर्ब ७२ करोड ३८ लाख, नेपाल एसबिआई बैंक ले ७ अर्ब २७ करोड, माछापुच्छ्रे बैंक ले ६ अर्ब ८५ करोड २५ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ले ३ अर्ब ७२ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन्।
गत आवको पुससम्मको तुलनामा चालू आवको सोही अवधिसम्म १९ बैंकको ब्याज आम्दानी घटेको छ। अपवादका रूपमा राष्ट्रिय वाणिज्य बैंक को ब्याज आम्दानी भने ८.७६ प्रतिशतले बढेको छ।
बैंकिङ क्षेत्रमा कर्जा प्रवाह सुस्त हुनु र ब्याजदरमा क्रमशः कमी आउनुले चालू आवमा समग्र ब्याज आम्दानी घटेको देखिएको छ।







