काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहने मौसमविद्को अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना छ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्ले वर्षा, चट्याङ तथा तातो मौसमका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन आग्रह गरेका छन्।






