मुग्लिन–मलेखु सडक स्तरोन्नतिः ४० प्रतिशत भौतिक प्रगति, कालोपत्रे तीव्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मलेखु खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्यले पछिल्लो समय गति लिएको छ। हालसम्म ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । गत वर्ष आठ किलोमिटर सम्पन्न गरिएकोमा चालु वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको आयोजनाले जनाएको छ।

२०७९ पुस १५ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरिएको यो खण्ड समयमै नसकिएपछि छ महिनाका लागि म्याद थपिएको छ। मुग्लिन–नागढुंगा सडकलाई तीन चरणमा विभाजन गरेर काम अघि बढाइएकोमा यो तेस्रो चरण हो।

नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (मुग्लिन–मलेखु) का इञ्जिनियर विजय दरैका अनुसार समग्र प्रगति करिब ४० प्रतिशत पुगेको छ। कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही भागमा कालोपत्रे सकिएको छ भने बाँदरे क्षेत्रमा काम जारी छ। फिस्लिङ र जवाङ खोलामा बेस तथा सबबेस राखेर अन्तिम तयारी भइरहेको छ। अनुकूल मौसमको फाइदा उठाउँदै करिब २०० जना मजदुर, प्राविधिक र कर्मचारी परिचालन गरिएको छ।

छ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउण्डेसनपछिको संरचनागत काम चलिरहेको छ। कृष्णभिर क्षेत्रमा पहिरो नियन्त्रणका संरचना निर्माण पनि भइरहेको छ। यद्यपि, कालोपत्रेका लागि आवश्यक निर्माण सामग्री दीर्घकालीन रूपमा अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

कुल ३८.८६ किलोमिटर लम्बाइको यस खण्डमा मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर छ लेन, रमाइलोडाँडा लगायतका क्षेत्रमा ७.२ किलोमिटर चार लेन तथा उकालो–ओरालोमा २.३ किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ। बाँकी सडक दुई लेनको हुनेछ। शर्मा–जेडआइसीजी जेभीले करिब चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का लिएको हो।

नाला, सुरक्षाबार, पर्खाल, पहिरो रोकथाम र सडक सुरक्षाका अन्य संरचना निर्माणका काम अझै बाँकी छन्। विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडक खण्ड राजधानी काठमाडौँ प्रवेश–निर्गमनको प्रमुख मार्गका रूपमा महत्त्वपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *