काठमाडौं। एभरेष्ट कलरले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई निष्कासन गरेको हो।
कम्पनीले ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
त्यसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले छिटोमा जेठ २७ गते र ढिलोेमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिंग्स् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ।
यसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।






