कनिष्ठको पोल्टामा टेलिकमको नेतृत्व, निर्णय सच्याउन प्रधानमन्त्रीलाई कर्मचारी संगठनको चेतावनी

काठमाडौं। विधि र प्रक्रिया मिचेर नेपाल टेलिकममा नियमविपरीत निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन माग गर्दै कर्मचारी संगठनहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नेपाल टेलिकमको विनियमावलीमा भएको व्यवस्थाविपरीत कनिष्ठ एवम् अयोग्य कर्मचारी रीना डंगोललाई निमित्त प्रमुख नियुक्त गरेपछि टेलिकमका कर्मचारी संगठनहरुले उनको नियुक्त बदर हुनुपर्ने लगायतका मागसहित आज प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका हुन्।

कर्मचारी सेवा शर्त विनियमावली, २०७८ को नियम १४ (२) अनुसार कार्यालय प्रमुख बिदा वा रिक्त रहेको अवस्थामा सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्तको जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत अयोग्य कर्मचारीलाई जिम्मेवारी दिइएको भन्दै उक्त निर्णय सच्याउन टेलिकमका दुई कर्मचारी संगठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) र नेपाल राष्ट्रिय कर्मचारी मञ्च, नेपाल टेलिकम (NEONNT) का पदाधिकारीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा टेलिकमभित्र प्रचलित नियम-कानुन र सेवा शर्त विपरीत निर्णयहरू गरिएको दावी गरिएको छ । साथै, यस किसिमको निर्णयले संस्थाभित्र अन्योल, असन्तोष र शक्ति केन्द्रीकरणको प्रवृत्ति बढाएको उल्लेख गरिएको छ।

यस निर्णयले संस्थागत परम्परा र विधिसम्मत प्रक्रियामाथि प्रहार गरेको कर्मचारीहरुको गुनासो छ। “कम्पनीको आन्तरिक व्यवस्थापनमा गलत नजिर स्थापित हुने गरी गरिएको निर्णयले दीर्घकालीन रूपमा संस्थालाई नोक्सानी पुऱ्याउन सक्छ,” पत्रमा उल्लेख छ।

टेलिकम सरकारको बहुमत स्वामित्व रहेको रणनीतिक सार्वजनिक संस्था भएकाले यहाँ हुने निर्णय पारदर्शी र विधिसम्मत हुनुपर्ने कर्मचारीहरूको माग छ। उनीहरूले निर्णय प्रक्रिया सच्याउन, प्रचलित ऐन-नियमको पालना सुनिश्चित गर्न र संस्थाभित्रको असन्तोष समाधान गर्न प्रधानमन्त्री कार्यालयले तत्काल आवश्यक निर्देशन दिनुपर्ने माग राखेका छन्।

कर्मचारी संगठनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्रमा निर्वाचन आयोग तथा टेलिकम सञ्चालक समितिको समेत ध्यानाकर्षण गराएका छन्।

यसअघि पनि कर्मचारी संगठनहरूले पत्रकार सम्मेलन नै गरी आन्तरिक व्यवस्थापनमा भइरहेको हस्तक्षेप, शक्ति केन्द्रीकरण एवम् नियमविपरीत हुने काम कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *