खर्च घट्दा नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो

काठमाण्डौ । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कोषको नाफा र आम्दानी दुवैमा सुधार देखिएको छ भने खर्च नियन्त्रणमा आएको छ।

समीक्षा अवधिमा कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो। गत आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो।

यस अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा २.८६ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा कोषले १ अर्ब ३ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो। आम्दानी बढ्दा खर्च भने घटेको छ। अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर समीक्षा अवधिमा १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

लगानीतर्फ कोषले कुल २ खर्ब ९८ अर्ब रुपैयाँ परिचालन गरेको छ। यसमध्ये मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड रुपैयाँ, संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड रुपैयाँ तथा सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ।

समीक्षा अवधिसम्म कोषको जगेडा कोष १२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम रहेको वित्तीय विवरणले देखाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *