काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणअनुसार बैंकले चालू आर्थिक वर्षको पुससम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख पुगेको छ। सोही कारण बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशत बढेको छ।
नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।
सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ। १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। पुससम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब कर्जा लगानी गरेको वित्तिीय विवरणमा उल्लेख छ






