काठमाडौँ । चीनको औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले पुराना तथा ठूला भ्रष्टाचारका घटनाको छानबिन प्रक्रिया अघि बढाइएको दाबी गरे।
उनका अनुसार २०६३ सालपछि भएका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयको अध्ययन र छानबिनका लागि कार्यदल गठन गरिएको छ।
मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा ल्याइएको बताए।
उनले सेवा प्रवाहलाई सरल, छिटो र झन्झटरहित बनाउन प्रविधिमैत्री शासन प्रणालीमा जोड दिइएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी दिए।
उक्त एपमार्फत विदेशमा समस्या परेका नेपालीले गुनासो दर्ता गर्न सक्ने र त्यसपछि सम्बन्धित दूतावाससँग समन्वय गरेर समाधान प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले सरकार परिणाममुखी ढंगले काम गरिरहेको र निकट भविष्यमा नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन अनुभूति गर्ने अपेक्षा व्यक्त गरेका छन्।






