उम्मेदवारी खारेज पछि रेशम चौधरीले भने- राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ नि

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएपछि प्रतिक्रिया जनाएका छन्। बिहीबार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले आफूलाई राजनीतिक सिकार बनाइएको टिप्पणी गरेका हुन्।

कैलाली क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले राज्यले विभेद, दमन र उपेक्षित समुदायलाई पीडा दिन विभिन्न हतियार प्रयोग गरेको आरोप लगाएका छन्।

उनले आफ्नो वर्तमान अवस्थालाई दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको सङ्घर्षसँग तुलना गर्दै पहिचानको लडाइँ लामो हुन सक्ने सङ्केत गरे।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ। विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो सङ्घर्ष गर्दाको परिणाम प्राप्ति सिङ्गो अफ्रिका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ।’

चौधरीले आफ्नो उम्मेदवारी खारेजीको विरोध स्वरूप पार्टीको चुनाव चिन्ह जाँतो (चकिया) मा मतदान गर्न समर्थकसँग अपिल गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘राजनैतिक विभेदका विरुद्ध सबैको साथ भनेकै जाँतो (चकिया) मा मतदान हो। मेरो उम्मेदवारी खारेजीका विरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षासहित। जय नागरिक।’

यसअघि बिहीबार नै कैलाली क्षेत्र नम्ब- १ का निर्वाचन अधिकृतले टीकापुर घटनामा अदालतबाट भएको जन्मकैदको फैसला र कानुनी व्यवस्थालाई आधार मान्दै चौधरीको उम्मेदवारी खारेज गरिदिएका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *