पोखरा । आगामी निर्वाचनका लागि लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म केसीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका केसीलाई पार्टीले पुनः दोहोर्याएर टिकट दिएको हो ।
यस क्षेत्रमा रास्वपा सांसद सोविता गौतम उठ्ने होहल्ला चले पनि उनी चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने निश्चित भएपछि लमजुङमा केसीले नै अवसर पाएका हुन् । गत निर्वाचनमा उनले ९ हजार ३३ मत ल्याएका थिए ।
उक्त क्षेत्रबाट निर्वाचित एमालेका पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ८५ मत ल्याउँदा माओवादीका देव गुरुङले ३१ हजार ७ सय ९१ मत पाएका थिए ।
केसीले विगतको अनुभव र संगठनका आधारमा चुनावी अभियान अघि बढाउने बताएका छन् । पार्टीभित्र आकांक्षीहरू धेरै भएका कारण र कडा प्रतिस्पर्धाका कारण गण्डकीका अन्य केही क्षेत्रहरूको टिकट भने अझै टुङ्गिन बाँकी रहेको रास्वपा स्रोतले जनाएको छ ।






