अर्बौं भुक्तानी नहुँदा स्वास्थ्य बीमा धरापमा, बोर्डका निर्देशकले उठाए हात

काठमाडौँ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताललाई दिनुपर्ने अर्बौं रुपैयाँ भुक्तानी लामो समयदेखि रोकिँदा उत्पन्न संकटका बीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

भुक्तानी रोकिएका कारण सरकारी तथा निजी अस्पतालहरूले सेवा सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो। यही दबाबबीच त्रिवि शिक्षण अस्पतालले बीमा कार्यक्रमअन्तर्गतको उपचार सेवा स्थगित गर्‍यो । त्यसपछि अन्य अस्पतालहरूले पनि क्रमशः सेवा बन्द गर्ने चेतावनी दिएका थिए, जसले कार्यक्रमको भविष्य नै अनिश्चित बन्न पुगेको छ।

डा. काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँबाट बोर्डको निर्देशकमा नियुक्त भएका थिए। उनको कार्यकालमा बीमा कार्यक्रम विस्तारका केही प्रयास भए पनि सरकारबाट नियमित बजेट निकासा नहुँदा योजना कार्यान्वयनमै ठूलो अवरोध सिर्जना भएको बोर्ड स्रोतको भनाइ छ।

अस्पतालहरूले औषधि खरिद, उपकरण सञ्चालन र जनशक्ति व्यवस्थापनमा समेत समस्या भोग्न थालेपछि सेवा निरन्तरता कठिन बनेको थियो।

सरकारले तिर्न बाँकी रकम अर्बौं पुगिसकेको बताइन्छ। भुक्तानी नआएपछि अस्पतालहरूले बीमा कार्यक्रम धान्न नसक्ने निष्कर्ष निकाल्दै सेवा रोक्न थालेका हुन्। यसको प्रत्यक्ष असर बीमित नागरिकमा परेको छ । उपचारका लागि बीमा कार्ड बोकेर अस्पताल पुगेका सर्वसाधारण सेवा नपाएर फर्किनुपर्ने स्थिति बनेको छ, जसले राज्यको स्वास्थ्य बीमा नीतिप्रति भरोसा कमजोर बनाएको छ।

निर्देशकको राजीनामासँगै स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ। भुक्तानी संकट समाधान गरी कार्यक्रमलाई पुनः लयमा फर्काउन सरकारले कस्तो कदम चाल्छ भन्ने विषयमा सर्वत्र चासो र अन्योल दुवै बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *