काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देशको समग्र विकासका लागि अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा दीर्घकालीन दृष्टिकोण तथा इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।
भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विकास भन्नाले सडक र भवनजस्ता भौतिक संरचना मात्र नभई सुरक्षित संरचना र उदार समाज निर्माण पनि भएको उल्लेख गरेका छन्।
‘अब देशलाई अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ,’ उनले लेखेका छन्, ‘लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।’
स्ट्रक्चरल इन्जिनियरका रूपमा २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा संलग्न अनुभव साझा गर्दै शाहले काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको बताएका छन्। गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा इन्जिनियरिङ कार्यमा संलग्न भएको उनको भनाइ छ।
‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ उनले भनेका छन्, ‘भौगोलिक बनोटसँगै विविधतायुक्त समाजलाई सँगसँगै माथि उठाउने सोच आवश्यक छ।’
भारतमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनपछि सुविधासम्पन्न देशमा बस्ने अवसर हुँदाहुँदै पनि नेपाल फर्कने निर्णय गरेको उनले स्मरण गरेका छन्।
महानगर प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै शाहले महानगरबाट सुरु भएका सुधार र अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन्।
सुरक्षित राष्ट्र निर्माणका लागि दीर्घकालीन योजना, मौलिकता र आधुनिक विकासबीचको सन्तुलन तथा जिम्मेवार नीति अपरिहार्य रहेको उनको धारणा छ।







