रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल

दाङ । एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्म विपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे ।

महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे ।

‘प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन’ उनले भने, ‘यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ ।’ उनले ‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिद्धान्तको आधारमा यस्तो निर्णयको विरोध गर्न सक्नुपर्ने धारणा राखे ।

प्रहरीको मनोबल गिराउने कार्यले देशमा शान्ति–सुरक्षा कायम हुन नसक्ने बताउँदै उनले सरकारका गतिविधि सुरक्षा निकायको मनोबल बढाउनेतर्फ केन्द्रित नभएको आरोप लगाए । राजनीतिक स्थायित्वबारे बोल्दै पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने स्पष्ट पारे । उनले नेपाली कांग्रेसलाई समयमै सचेत भएर आन्तरिक एकता मजबुत बनाउन सुझाव दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *