काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको बताएका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे। राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरू समान रहेको बताए।
वाग्लेले सरकार पनि भारतकै बाटोमा लाग्ने बेला आएको बताए। उनले भने, ‘सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो। तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो। हामी पनि सोहीबाटो लाग्ने बेला भएको छ।’






