काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका दुई महामन्त्रीबीच भएको छलफल निष्कर्षविहीन बनेको छ । बुधबार बिहान देउवा निवासमा भएको भेटमा कुनै ठोस सहमति नजुटेको नेताहरूले बताएका छन् ।
यसअघि भएका संवादहरू पनि परिणामविहीन भएपछि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका थिए । भेटका क्रममा महामन्त्रीहरूले देउवाको पछिल्लो सक्रियताप्रति चासो व्यक्त गरेका थिए ।
‘२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा तपाईं सहभागी हुँदा सकारात्मक सन्देश गएको थियो । त्यसपछि फेरि सक्रिय हुनुले सम्मान बढाउँदैन, बरु निष्क्रिय रहनु उपयुक्त हुन्छ,’ भनी देउवालाई सुझाव दिइएको महामन्त्रीहरूले बताए ।
करिब ४५ मिनेट चलेको छलफलबाट कुनै ठोस निर्णय ननिस्किएपछि महामन्त्रीद्वयले निर्वाचन समितिलाई जानकारी गराउँदै पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।






