तेहरान । इरानमा सरकारविरोधी आन्दोलन तीव्र बन्दै गएपछि देशभर अस्थिरता गहिरिँदै गएको छ।
चुलिँदो महँगीविरुद्ध सुरु भएको विरोध प्रदर्शन अब सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा केन्द्रित हुन पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरूका अनुसार सुरक्षा बलको कडा कारबाहीमा परी हालसम्म सयौँ प्रदर्शनकारीको ज्यान गएको छ।
राजधानी तेहरानसहित विभिन्न सहरहरूमा अवस्था नियन्त्रणबाहिर जाँदै युद्धक्षेत्रको झल्को दिने खालको बनेको छ।
तेहरानस्थित एक मुर्दाघरमा मात्रै १८० वटा शव झोलामा राखिएको देखिएको छ भने देशभर ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।
प्रत्यक्षदर्शीका भनाइअनुसार प्रदर्शन दबाउन सुरक्षा निकायले भीडमाथि अन्धाधुन्ध गोली चलाइरहेका छन्।
अस्पतालहरू घाइते र मृतकले भरिएका छन्। कतिपय स्थानमा ट्रकमार्फत शवहरू स्थानान्तरण गरिएको र युवाहरूलाई टाउको तथा छातीमा लक्षित गरी गोली प्रहार गरिएको जानकारी बाहिर आएको छ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा स्वतन्त्रताको पक्षमा अमेरिका उभिन तयार रहेको बताएका छन्।
प्रदर्शनकारीको हत्यालाई लिएर इरानमाथि सैन्य कदम, साइबर आक्रमण वा थप कडा प्रतिबन्ध लगाउने विषयमा वासिङ्टनमा छलफल भइरहेको बताइएको छ।
अमेरिकी चेतावनीपछि इरानले पनि कडा प्रतिक्रिया जनाउने संकेत दिएको छ। इरानी संसद्का सभामुखले अमेरिकाले आक्रमण गरेमा यस क्षेत्रका अमेरिकी सैन्य अड्डा, जहाज तथा इजरायललाई समेत लक्ष्य बनाइने चेतावनी दिएका छन्।
उता, इरानी महान्यायाधिवक्ताले आन्दोलनकारीलाई ‘ईश्वरका शत्रु’ को संज्ञा दिँदै मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताएका छन्।
सरकारले सूचनाको प्रवाह रोक्न इन्टरनेट सेवामा कडाइ गरेको छ भने घटनालाई अमेरिका र इजरायलविरुद्धको ‘राष्ट्रिय सङ्घर्ष’ भन्दै मृतकहरूको सम्झनामा तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ।






