ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकास गरिएको ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको अग्रसरतामा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि यात्रामा महत्वपूर्ण कोशेढुंगा मानिएको छ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह आज (सोमबार) बिहान १० बजेर ३२ मिनेटमा अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ। भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) को रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा उपग्रह प्रक्षेपण हुन लागेको हो।
नेपालकै पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रहको उद्देश्य वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) आधारित तथ्यांक प्रशोधन गर्नु रहेको छ। विद्यार्थीहरूले स्वदेशमै बसेर यस्तो उन्नत प्रविधि विकास गर्न सफल हुनुले नेपाली विज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको नास्टको भनाइ छ।
उपग्रह प्रक्षेपणपछि यसको सञ्चालन र नियन्त्रण ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ। भारतीय समयअनुसार बिहान १० बजेर १७ मिनेटमा र नेपाली समयअनुसार १० बजेर ३२ मिनेटमा हुने प्रक्षेपणलाई लिएर नेपाली वैज्ञानिक तथा विद्यार्थीहरू उत्साहित देखिएका छन्।






