काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाड्ने बताएका छन्।
मंगलबार पोखरेलले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो’, पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’
उनले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने पनि बताएका छन् ।
‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ’, पोखरेलले भनेका छन् ।
नेता पोखरेलले वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको, आठौँ, नवौँ र दसौँ राष्ट्रिय महाधिवेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्ने पनि बताएका छन् ।







