काठमाडौँ महानगरले सेवाग्राहीलाई निःशुल्क सिफारिस उपलब्ध गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित मालपोत कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण अभिलेख नष्ट भएकाले प्रभावित जग्गाधनीहरूलाई निःशुल्क सिफारिस प्रदान गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको राजस्व विभागले मंगलबार सबै वडा कार्यालयहरूलाई परिपत्र जारी गर्दै जग्गा स्रेस्ता (ल्यान्ड रेकर्ड) पुनः कायम गर्न आवश्यक पर्ने सिफारिस एकपटकका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको हो।

आन्दोलनका कारण मालपोत कार्यालयमा रहेका धेरै अभिलेख जल्न वा नष्ट हुन पुगेका थिए। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मालपोत कार्यालय कलंकीले नष्ट भएका अभिलेख पुनः निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

स्रेस्ता पुनः कायम गर्नका लागि स्थानीय तहबाट जग्गाको भोगचलन सम्बन्धी विवरण, जग्गाधनी पहिचान हुने तीन पुस्ते वंशावली तथा फोटो टाँससहितको सिफारिस आवश्यक हुने महानगरले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *