‘खरानी टक्टकाउँदै उठ्दैछ निजी क्षेत्र’ — अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् ।शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।

‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रले जसोतसो भएपनि लगानी गरिरहेको भन्दै जेनजी आन्दोलनले आफैले आफैलाई फर्केर हेर्न बाध्य बनाएको बताए ।

निजी क्षेत्रमा पटक पटक प्रहार हुँदा पनि दरिलो र जिम्मेवार बनेको भन्दै निजी क्षेत्रले पनि आफ्नो समिक्षा गरिरहेको उनको भनाई छ।

‘निजी क्षेत्रको उदेश्य भनेको सेवा दिएर नाफा कमाउनु हो । तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ । तर पनि निजी क्षेत्र दरिलो र जिम्मेवार छ । हामी समिक्षा गर्दैछौं कहाँ चुक्यौ भनेर,’ उनले भने, ‘जेनजी आन्दोलनमा लुटपाट, आगजनी गर्नेलाई सरकारले कारबाही गरेर अगाडि बढ्न आवश्यक छ । निजी क्षेत्रको भावनालाई सरकारले बुझेको छ भन्ने आशा लिएका छौं ।’

उनले आगजनी र तोडफोडमा संलग्नमाथि कडा कारबाही गर्न आग्रह गर्दै भने, “दण्डहीनता मौलाउन नदिन सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन ।”

साथै, अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएको हालको आक्रमण, आगजनी र लुटपाटले उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको भन्दै राज्यले निजी क्षेत्रको सुरक्षामा कडाइ अपनाउनुपर्ने बताए ।

ढकालले हालैका आन्दोलनका क्रममा भएको भौतिक क्षति करिब ४८ अर्ब रुपैयाँ पुगेको र यसबाट निजी क्षेत्रले करिब ८८ अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको जानकारी दिए । उनले भने, “अर्थ मन्त्रालयले भन्सार, बीमा र बैंकिङ सुविधा उपलब्ध गराएको छ, तर यसको कार्यान्वयनमा अझ तदारुकता आवश्यक छ ।”

त्यस्तै ढकालले स्थायित्व र समयमै निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दल र युवापुस्तासँग संवाद र सहकार्यको आवश्यकता औंल्याउँदै भने, “दिगो शान्ति र समृद्धिका लागि सबैको प्रयास अहिले अपरिहार्य छ । निजी क्षेत्र पनि यसमा पूर्ण सहकार्य गर्न तयार छ ।”

उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “निजी क्षेत्र फल दिने रुख हो, त्यसैले यसलाई मलजल गरी संरक्षण गर्न सके राष्ट्र समृद्ध हुन्छ । प्रधानमन्त्रीज्यूको कार्यकालमा त्यही संरक्षण प्राप्त होस् भन्ने अपेक्षा निजी क्षेत्रको छ ।”

ढकालले निजी क्षेत्रलाई ‘राजस्वका मुख्य स्रोत’को रूपमा स्मरण गर्दै भने– “नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ, ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ र आयकरमा योगदान ८० प्रतिशतभन्दा बढी छ ।”

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *