व्यवसायीहरु कालो सूचिमा पर्दा मेरो मन दुख्छ, उच्च मनोवलले काम गर्नुस्: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताए ।

“हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्‍यो’  भन्दै  उनले नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएको उल्लेख गरे । हरेक कुरा हामीमै निर्भर रहने भन्दै उनले सम्पूर्ण काम र आर्थिक क्रियाकलापमा पनि मनोबल उच्च राख्न आग्रह गरे ।

उनले भने – ‘ मलाई लाग्छ, सरकारको सन्देश पनि त्यही हो, केन्द्रीय बैंकबाट त म यो कुरा तपाईंहरूलाई सधैँ भन्छु, कहिलेकाहीँ हामीसँग पैसा पनि हुन्छ, तर मनोबल एकदमै कम हुन्छ अहिले पैसा छ, अहिले हामीले बाहिर गएर माग्न पनि पर्दैन।’ उनले सरकारले साँच्चै खोज्न जाने हो भने २.७५ प्रतिशत ब्याजदरमै रकम पाइने हुँदा अहिलेको अबस्था एउटा अबसर पनि भएको बताए ।

अहिले नेपाली बैंकहरूमा कतिपय समस्या आएको उल्लेख गर्दै उनले पुरानो व्यवसायिक घरानाहरूलाई पुरानो कर्जा तिर्न र नयाँ सस्तो दरको कर्जा लैजान आग्रह गरे । तर पुरानो ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने काम गर्दा आफैलाई नोक्सान हुने उनले उल्लेख गरे । उनले कुनै उद्योग वा कुनै फर्महरूले काम गरिरहेको छैन भने, त्यसलाई छाडेर नयाँ व्यबसायमा होमीन पनि आग्रह गरे । पुरानै संरचना र पुरानै तरीकाको उद्योग संरक्षण गरिराख्न जरुरी नभएको उनको भनाई छ । -‘तपाईंहरूले हरेक कुरामा पुनर्संरचना मात्रै भनिराख्नु हुँदैन, अनुकूलन भएन भने छाडेर अर्को सुरु गर्न पनि सक्नुपर्छ ’ उनले भने ।

निजी क्षेत्रबाट धेरै मागहरू नियमित रूपमा आएको उल्लेख गर्दै गभर्नर पौडेलले राष्ट्र बैंकबाट सकेसम्म सबैलाई सम्बोधन गर्ने प्रयास गरेको बताए । उद्योगी र व्यबसायीहरु कालो सूचिमा पर्ने काम आफूलाई निकै नमज्जा लाग्ने गरेको उल्लेख गर्दै उनले एकदम ठूलो सङ्ख्यामा कालोसूचीमा परेको विषयलाई आफूले चिन्ताको रूपमा लिएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *