काठमाडौं । राजनीतिलाई दुहुनु गाइको रुपमा प्रयोग आफ्नो स्वार्थ पुरा गरिरहेका नेपाली कांग्रेसका महासमिति सदस्य दूतबहादुर गुरुङ (डीबी)ले भूमाफियाको सञ्जाल विस्तार गरिरहेको खुलेको छ । कांग्रेस पार्टीमा आवद्ध भएपछि तत्कालीन स्थानीय विकास मन्त्रालयको विज्ञ तथा सहरी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पद हत्याएका गुरुङले देशका विभिन्न ठाउँमा रहेका विवादित जग्गा र सुकुम्बासी वस्तीको जग्गा हत्याउन आफूसहित विचौलियाहरुको समूह सक्रिय गराइरहेको पाइएको हो ।
पाँचथरको तत्कालीन रानीटार गाविसका स्थायी वासिन्दा रहेका उनले झापा, मोरङ, काभ्रे, काठमाडौैं, भक्तपुर र ललितपुरमा जग्गाको काम गर्ने भन्दै विचौलियाको समूह निर्माण गरिरहेका छन् । यसमध्ये उनले सर्वाधिक विवाद रहेको मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ को दहिधापमा रहेको करिब २५ बिघा जग्गा हत्याउन उनले धेरै ठूलो प्रयास गरिरहेका छन् । उक्त जग्गा काठमाडौंका हिरामणि दाहाल र हरिप्रसाद दाहालको रहेको र वडा कार्यालयले तिरो तिरेर फुकुवा गर्नुपर्ने भन्दै अवैध दबाब बढाएका हुन् ।
त्यहाँका वडाध्यक्ष खड्ग बस्नेतले दिएको जानकारी अनुसार गएको भदौमा गुरुङ आफैं गाउँपालिकामा पुगेका थिए । गुरुङले हिरामणि र हरिप्रसादको जग्गाको तिरो किन नबुझेको भन्दै वडाध्यक्ष बस्नेतलाई थर्काउने प्रयास गरेको उनले बताए । आफू शक्तिशाली मान्छे भएकोले आफूले भनेको मान्नु पर्ने अन्यथा राम्रो नहुने धम्की गुरुङले बस्नेतलाई दिएका थिए । आफूले अख्तियारमै उजुरी दिइसकेको भन्दै गुरुङले बस्नेतलाई तत्काल तिरो लिएर जग्गा बेच्ने वातावरण बनाउन भन्दै दबाब दिएका थिए ।
वडाध्यक्ष बस्नेतले भने – ‘डिबी गुरुङ म हो तुरुन्त तिरो बुझ्नुस् भन्दै आउनु भएको थियो । मैले जग्गाको आधिकारिक कागजपत्रसहित जग्गाधनीलाई पठाइ दिनुस् । तपाईले भनेको किन मान्ने ? सरकारले रुख रोपेको जंगलको जग्गाको तिरो कसका नाममा लिने ? भनेर प्रश्न गरेको थिएँ ।’
‘उहाँले म ठूलो मान्छे हो, मैले भनेपछि मान्नुपर्छ समेत भन्नु भयो । अख्तियारमा उजुरी हालेको भन्दै धम्कीयुक्त कुरा गर्नुभयो । तर मैले तपाईं जोसुकै भए पनि प्रमाणित हुने काम गर्नुस्, तपाईंको ठाउँमा तपाईं शक्तिसाली मान्छे होला तर म यो वडाको नेतृत्वमा हुन्जेल गैरकानुनी र अवैध काम हुन दिन्न भनेर पठाइ दिएँ । – बस्नेतले भने ।
हाल पनि डिबी गुरुङको मान्छे भन्दै पटक–पटक फोन गरेर धम्की दिने काम भइरहेको भनाइ वडाध्यक्ष बस्नेतको छ । बस्नेतका अनुसार २०३४÷०५ सालदेखि मानिसहरुले वस्ती बसालेको ठाउँ हिरामणि र हरिप्रसाद दाहालले २०३८ सालमा किनेको भन्दै वडा कार्यालयमा तिरो बुझ्नका लागि दबाब आउने गरेको छ । यद्यपी, त्यो जग्गा दाहालद्वयको नाममा रहेको प्रमाण कसैले देखाउन सकेको छैन । नत हामी हिरामणि र हरिप्रसाद दाहाल हौं भनेर आधिकारिक व्यक्ति नै त्यो ठाउँमा पुगेका छन् ।
उक्त जग्गा जसरी पनि आधिकारिक बनाइ दिने भन्दै गुरुङले ९३ वर्षीय वयोवृद्ध हिरामणि दाहालबाट पनि मोटो रकम बुझेको श्रोतको दाबी छ । ‘ठूलो जग्गा हो, तिरोमात्र बुझाउन पाइयो भने बेच्न मिल्छ र अन्तै लगानी गरेर घरजग्गा किन्न मिल्छ तर त्यसको लागि लगानी पनि गर्नुपर्छ ।’ – गुरुङको भनाइ उदृत गर्दै श्रोतले भन्यो ।
उक्त जग्गालाई आधिकारिक रुपमा हिरामणि र हरिप्रसाद दाहालको नाममा बनाउनको लागि काठमाडौंको जोरपाटीका माओवादी कार्यकर्ता प्रकाश श्रेष्ठले एक करोड खर्च गरिसकेको भन्दै उक्त पैसाको जिम्मेवारी लिनसमेत गुरुङले दाहाललाई दबाब दिएका छन् । दहिधापमै रहेका मानबहादुर माझीले स्थानीय स्तरमा भूमिका खेलेर त्यहाँका सुकुम्बासीहरुको व्यवस्थापन गर्ने बचन गुरुङले दाहाललाई दिएका छन् । यद्यपी, गुरुङले नाम लिएका माझी भने हतियार तथा खरखजाना लगायतका अपराध कर्महरुमा जोडिएको बताइन्छ । त्यहाँका वडाध्यक्ष बस्नेतले पनि माझी आपराधिक पृष्ठभूमिको रहेको आफूले पाएको बताए ।
पहिले पनि पटक–पटक भएको थियो झडप
कानेपोखरीको दहिधापमा रहेको २५ विघा जग्गा हिरामणि दाहाल र हरिप्रसाद दाहालको हो भन्दै विभिन्न विचौलियाहरु गएका बेला त्यो ठाउँमा पहिले नै पटक पटक झडप भएका थिए । २०७३ सालमा एउटा समूह पुगेर जग्गामा फोटो र भिडियो खिच्न थालेपछि सुकुम्बासीहरुको समूहले उनीहरुलाई भुमाफिया आएको भन्दै लखेटेका थिए । सुकुम्बासीहरुले रामेछापको सुनपाती गाउँपालिका घर आएका शेरबहादुर मगरको नेतृत्वमा गएको समूहलाई त्यतिबेला लखेटेका हुन् ।
ती नै शेरबहादुर मगर २०७८ को माघमा फेरि सोलुखुम्बुको दुधकुन्जा नगरपालिका घर भएका नुतन श्रेष्ठ र काठमाडौंको जोरपाटीका प्रल्हादमान सिंह बस्नेतसहितलाई लिएर उक्त ठाउँमा पुगेका थिए । बा ९ च ५७७३ नम्बरको कारमा गएका उनीहरुलाई त्यतिबेला भने सुकुम्बासीहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । ठूलो समूहमा रहेका आक्रोशित सुकुम्बासीहरुले त्यतिबेला कारमाथि पनि तोडफोड गरेका थिए । वडाध्यक्ष बस्नेतले प्रहरी चौकी रमाईंलो, इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल शनिश्चरेबाट खटिएको सुरक्षाकर्मीहरु ठूलो संख्यामा उपस्थित भएर स्थितिलाई नियन्त्रण गरेको थियोृ । मगरको समूहलाई स्थानीयले ७ घण्टासम्म नियन्त्रणमा लिएका थिए । आउँदा दिनमा माफियागिरी नगर्ने, सुकुम्बासीलाई दुःख नदिने, आउँदा दिनमा त्यस ठाउँमा नआउने प्रतिबद्धता गरेपछि मात्र उनीहरुलाई स्थानीय निकायको रोहबरमा छोडिएको थियो ।
त्यसपछि शान्त रहेको त्यस ठाउँको परिस्थितिलाई डिबी गुरुङको समूहले गिजोल्न खोजेपछि चिन्ता बढेको भनाई वडाध्यक्ष बस्नेतको रहेको छ । कागजपत्र बोकेर आधिकारिक व्यक्ति आए आफूले मालपोतको तिरो तिर्न सहजीकरण गर्ने भनाइ बस्नेतको छ । यद्यपी, दबाबको भरमा आफूले काम नगर्ने उनले बताए ।
टेलिभिजन दुरुपयोग गर्ने असफल प्रयास
आफूलाई उच्च सरकारी नियुक्ति दिलाउनको लागि नेताहरुको घर–घर चाहेरका डीबी गुरुङले चाहे अनुसारको पद नपाएपछि टेलिभिजन च्यानलकै दुरुपयोग गर्ने प्रयास गरेको खुलेको छ । काठमाडौंको रातोपुलस्थित एक टेलिभिजनमा कार्यरत नेपाल प्रेस युनियनमा आवद्ध कर्मचारीले दिएको जानकारी अनुसार गुरुङ टेलिभिजनमा लगानी गर्ने भन्दै त्यहाँ पुगेका थिए । कर्मचारीलाई तलब खुवाउन कठिनाइ परिरहेको त्यो समयमा उनको आफ्नै जिल्लाका एक व्यक्तिलाई भाइ साइनो लगाउदै टेलिभिजनमा प्रवेश गरेको ती कर्मचारीले दाबी गरे । उक्त टेलिभिजनका तत्कालिन सञ्चालक रहेका गोदावरी स्टील्सका सन्चालक सुशील प्रसाद सिनुरिया बनियालाई डेढ करोडको जस्ता दिने र सो वापतको शेयर टेलिभिजनमा आफूले पाउनु पर्ने सर्तमा टेलिभिजनमा कुरा अगाडि बढाएका उनले बनियालाई करिब एक करोड १२ लाख बराबरको जस्तापाता उपलब्ध गराएका थिए । टेलिभिजनमा शेयर भने दुई करोडको दाबी गरेपछी त्यहाँ विवाद भएको थियो ।
आफ्नो फाइदाको लागि जे पनि गर्न पछि नपर्ने गुरुङ्गले त्यो विवादकै बीचमा टेलिभिजनको सन्चालक समिति निर्देशकका रुपमा परिचयपत्र बनाएर विभिन्न शक्ति केन्द्रहरुमा देखाउदै धम्क्याइ सकेका थिए भने हजारौं भिजिटिङ्ग कार्डहरु वितरण गरेका थिए । उनले त्यही अवधिमा उक्त टेलिभिजनको नामबाट पनि कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम र वडा नं. ६ का वडाध्यक्ष बस्नेतलाई पटक–पटक फोन गरेर जग्गाको तिरो बुझ्न अन्यथा समाचार बनाएर नाङ्गेझार पार्ने भन्दै दबाब दिएका थिए । उनले उक्त टेलिभिजनमै रहेका बेला जाजरकोटमा भूकम्प पीडितका लागी हजारौं घर बनाउने ठेक्का मिलाइ दिने भन्दै केही व्यक्तिहरुलाई झुक्याएको आरोप समेत लागेको छ । गुरुङले टेलिभिजनको दुरुपयोग गरेको पाइएपछि उनी त्यहाँबाट निकालिएका थिए ।







