सम्पूर्ण डिजटल कारोबारको अन्तिम राफसाफ अब राष्ट्र बैंकको प्रणालीबाट

काठमाडौं । सम्पूर्ण डिजिटल कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने भएको छ। जसका लागि राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै साझेदारहरूसँग सल्लाह सुझाव मागेको छ। प्राप्त सल्लाह सुझावअनुसार आवश्यक संशोधन भएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ।

हाल नेपालमा नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन्। हाल यी प्रणालीमार्फत् हुने कारोबार उनीहरूले तोकिएको वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ। अब पनि कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुनेछ। तर, यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट’ बाट हुने राष्ट्र बैंकले जनाएको छ। रियल टाइम ग्रस सेटलमेन्टमार्फत् अन्तिम राफसाफ हुनुअघि यस्ता कारोबार नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा आउने बताईएको छ।

हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले गरिरहेको छ। अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छ। यो प्रणालीबाट न्यूनतम दुई लाख सम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ। २० लाखभन्दा कम रकमको कारोबारको लागि भने अन्य प्रणालीको समेत प्रयोग हुने गरेका छन्।

कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने व्यवस्थाले मुलुकभित्र हुने कारोबारको स्पष्ट तथ्यांक आउने अपेक्षा गरिएको छ। त्यस्तै, प्रणालीमा गर्न लागिएको यो विकासले भुक्तानी सेवा प्रदायकहरूको प्रणालीबीच अन्तरआबद्धता समेत कायम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *