जेन-जीलाई १० प्रतिशत शेयर दिएपछि भोटेकोशी जलविद्युत् आयोजनाको काम सुरु (सम्झौतापत्रसहित)

काठमाडौं । भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा फर्काउन स्थानीय र कम्पनीबिच महत्त्वपूर्ण सम्झौता भएको छ।

लामो समयदेखि बन्द रहेको ४५ मेगावाटको आयोजनाका लागि आइतबार भोटेकोशी जेन-जी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड (प्रथम पक्ष) र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) बिच सम्झौता भएको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत सरकारी तथा स्थानीय प्रतिनिधिको रोहवरमा उक्त सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार कम्पनीले आफ्नो शेयरको १० प्रतिशत आयोजना प्रभावित स्थानीय जनताको प्रतिनिधित्व गर्ने पब्लिक कम्पनीलाई हस्तान्तरण गर्ने छ। यो शेयरको अंकित मूल्य प्रतिशेयर सय रुपैयाँ रहनेछ। स्थानीय कम्पनीले शेयर खरिदका लागि बैंक कर्जा लिनेछ, जसको जमानी कम्पनीले दिनेछ। कर्जा तथा व्याज आगामी एक वर्षको लाभांशबाट चुक्ता हुनेछ, अन्यथा कम्पनीले बाँकी रकम भुक्तानी गर्ने व्यवस्था छ।

यसबाहेक, कम्पनीले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वका लागि वार्षिक २ करोड ५० लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको छ। साबिकका अन्य शीर्षकका रकममा अब कुनै दाबी नगर्ने सहमति पनि भएको छ। सम्झौतासँगै आयोजना पूर्ण सञ्चालनमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *