एशियन लाइफको हकप्रद शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।

एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गरेकोमा बाँकी बसेको शेयर लिलाम मार्फत् पुनः बिक्रीमा राखेको थियो।

कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता अवितरित शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर बिक्री खुलाएको हो।

उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा संस्थापकतर्फ कम्तीमा १ हजार कित्ता र सर्वसाधारणतर्फ कम्तीमा १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *