काठमाडाैं । मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड (क्युआर)बाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै मोबाइल बैंकिङ कारोबार ४५.३४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा मोबाइल बैंकिङबाट ३४ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी भएको थियो । गत आव यसबाट ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँबराबरको भुक्तानी भएको छ । दुई वर्षअघि आव ०७९/८० मा यसबाट २१ खर्ब ८५ अर्ब ९९ करोड रुपैयाँ भुुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांक छ ।
संख्याका आधारमा यस्तो कारोबार ४५.९ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा ४२ करोड आठ लाख ९९ हजार आठ सय ७७ वटा मोबाइल बैंकिङ कारोबार भएको थियो । गत आवमा त्यस्तो संख्या ६१ करोड ४१ लाख ३३ हजार नौ सय १० पुगेको छ । आव ०७९/८० मा भने २८ करोड ३४ लाख २० हजार पाँच सय ९७ वटा यस्ता कारोबार भएको तथ्यांक छ ।
वालेटबाट हुने भुक्तानी पनि ६७.२६ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा तीन खर्ब दुई अर्ब ६९ करोडबराबरको वालेट कारोबार भएको थियो । गत आवमा त्यस्तो कारोबार पाँच खर्ब ६ अर्ब ३१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । आव ०७९/८० मा भने दुई खर्ब १९ अर्ब ८० करोड ६७ लाखको कारोबार भएको थियो । तथ्यांकअनुसार संख्याका आधारमा वालेट कारोबार ३६.११ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा २९ करोड ४५ लाख ४३ हजार ६ सय ९६ वटा वालेट कारोबार भएको थियो । गत आवमा भने त्यस्तो संख्या ४० करोड नौ लाख २९ हजार ८३ पुगेको छ । दुई वर्षअघि आव ०७९/८० मा यस्तो कारोबार संख्या भने २१ करोड ३३ लाख ६७ हजार एक सय ४४ थियो ।
गत आवमा क्युआर भुक्तानीमा भने ९१ प्रतिशतको वृद्धि देखिएको छ । आव ०८०/८१ मा चार खर्ब ९९ अर्ब ७९ करोड रुपैयाँबराबरको क्युआर भुक्तानी भएको थियो । गत आवमा त्यो नौ खर्ब ५८ अर्ब ३८ करोड २६ लाख रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । आव ०७९/८० मा यस्तो कारोबार दुई खर्ब ४५ अर्ब ४१ करोड रुपैयाँ थियो ।
संख्याका आधारमा क्युआर भुक्तानी ८६.४४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा १६ करोड ९३ लाख ४६ हजार चार सय ६७ वटा क्युआर भुक्तानी भएको थियो । गत आवमा त्यस्तो संख्या भने ३१ करोड ५७ लाख ४२ हजार २९ वटा पुगेको छ । आव ०७९/८० मा सात करोड ८० लाख २९ हजार दुई सयवटा यस्ता कारोबार भएको तथ्यांक छ ।
पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा वालेट प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि देखिएको छ । असार ०८० सम्म वालेट प्रयोगकर्ताको संख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३ रहेको थियो । आव ०८१ असारसम्म आउँदा त्यो २४ प्रतिशतले बढेर दुई करोड ३४ लाख ६१ हजार एक सय सात पुगेको थियो । असार ०८२ सम्म आउँदा त्यो १४ प्रतिशतले बढेर दुई करोड ६७ लाख ६५ हजार ६ सय ६० पुगेको देखिन्छ ।
यस्तै, ०८० असारसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड १३ लाख ६३ हजार नौ सय ८९ रहेको थियो । असार ०८१ सम्म आउँदा त्यो १५ प्रतिशतले बढेर दुई करोड ४६ लाख ४८ हजार आठ सय ४६ र असार ०८२ सम्म आउँदा १२ प्रतितले बढेर दुई करोड ७७ लाख ४१ हजार दुई सय ८४ पुगेको छ ।
असार ०८० सम्म वालेट प्रयोगकर्ताभन्दा २४ लाख २२ हजार एक सय ९६ बढी मोबाइल बैंकिङका प्रयोगकर्ता थिए । असार ०८२ सम्म आउँदा यी दुईका प्रयोगकर्ता करिब बराबरको अवस्थामा आएका छन् । अहिले वालेटभन्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या नौ लाख ७५ हजार ६ सय २४ ले मात्रै बढी छ । अर्थात्, वालेट प्रयोगकर्ताको संख्या पनि उच्च दरमा बढ्दै आएको छ । यद्यपि, यसमा दोहोरोपना पनि रहेको छ ।
अहिले नेपालमा सञ्चालित सबै बैंकले मोबाइल बैंकिङ सेवा दिएका छन् । यीबाहेक २२ भुक्तानी सेवाप्रदायकले वालेट सञ्चालन गर्दै आएका छन् । यस्तै, विभिन्न नौ भुक्तानी प्रणाली सञ्चालक पनि सञ्चालनमा छन् । जसले भुक्तानीको प्रणाली विकास गर्ने, व्यावसायिक ग्राहक (मर्चेन्ट)लाई क्युआर कोड प्रदान गर्नेलगायतका सुविधा दिँदै आएका छन् ।
पछिल्लो तीन आवको तथ्यांक हेर्दा मोबाइल बैंकिङ, वालेट र क्युआर भुक्तानी बढ्दै गएको देखिएको छ । अहिले अधिकांश ग्राहकसँग स्मार्ट फोन छ । त्यसमा वालेट र मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । साथै, त्यसबाट क्युआर भुक्तानी पनि बढेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख किरण पण्डितले विद्युतीय भुक्तानीमा उत्साहजक वृद्धि देखिएको बताए । ‘विद्युतीय भुक्तानीमा उत्साहजनक वृद्धि देखिएको छ । यो तथ्यांकले डिजिटल भुक्तानीसम्बन्धी प्रविधि (फिनटेक)लाई नागरिकले स्वीकार गरेको पुष्टि गरेको छ । जनताले नगदलाई छाडेर विद्युतीय माध्यमबाट भुक्तानी गर्ने बानी पार्दै गएको पनि देखियो,’ उनले भने, ‘यद्यपि, यसमा अनलाइन ठगीको जोखिम पनि देखिएको छ । तसर्थ, सचेत भएर यस्तो कारोबार गर्न भने आवश्यक छ ।’
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालको आन्तरिक डिजिटल भुक्तानी भने ७१.२४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा ५७४ खर्ब ७८ अर्ब ३१ करोड रुपैयाँको डिजिटल भुक्तानी भएको थियो । गत आवमा भने ९४८ खर्ब २८ अर्ब ७६ करोडबराबरको डिजिटल भुक्तानी भएको छ । त्यसमा आरटिजिएसबाट मात्रै ७४९ खर्ब एक अर्ब ७५ करोड ६३ लाख रुपैयाँबराबरको डिजिटल भुक्तानी भएको छ ।
गत आवमा साउनमा १२६ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ, भदौमा ८१ खर्ब ६५ अर्ब ४४ करोड रुपैयाँ, असोजमा ६६ खर्ब आठ अर्ब ३५ करोड रुपैयाँ, कात्तिकमा ९४ खर्ब ८६ अर्ब ३० करोड रुपैयाँ, मंसिरमा ७० खर्ब ५६ अर्ब ९६ करोड रुपैयाँ र पुसमा ७१ खर्ब ९८ अर्ब ९७ लाख रुपैयाबराबरको कुल डिजिटल भुक्तानी भएको छ ।
यस्तै, माघमा ५७ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ, फागुनमा ६३ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ, चैतमा ६७ खर्ब ९८ करोड ५६ लाख रुपैयाँ, वैशाखमा ८१ खर्ब ७५ अर्ब ७२ करोड रुपैयाँ, जेठमा ८३ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ र असारमा ११९ खर्ब ५० अर्ब ३९ करोड रुपैयाँबराबरको डिजिटल भुक्तानी भएको देखिन्छ ।






