काठमाडाैं। एक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।
२०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५७१ अर्ब २४ करोड रहेको थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५,०५,९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३,३३,३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ रहेको थियो।






