चितवनमा सुरु भयो तेस्रो तीज विशेष व्यापार मेला

चितवन । चितवन उद्योग संघ महिला उद्यमी समितिको आयोजनामा भरतपुर–१०स्थित चितवन एक्स्पो सेन्टरमा आजदेखि ‘तेस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला २०८२’ सुरु भएको छ । “तीजको रङ, उद्यमशीलतासँग” भन्ने नारासहित सुरु भएको यो मेला भदौ १ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाको उद्देश्य महिला नेतृत्वमा सञ्चालित साना तथा ठूला व्यवसायलाई प्रोत्साहन गर्नु, नेपाली मौलिक उत्पादनलाई बजारमा प्रवर्द्धन गर्नु र महिला उद्यमशीलताको सशक्तीकरण गर्नु हो ।

कृषि, हस्तकला, वस्त्र, खाद्य सामग्री, घरेलु उत्पादन तथा सेवा क्षेत्रमा आधारित स्टार्टअपदेखि स्थापित व्यवसायसम्मका महिला र पुरुष उद्यमीहरूको सक्रिय सहभागिता रहेको छ। साथै, सांस्कृतिक कार्यक्रम, तीज गीत प्रतियोगिता, व्यापारिक अन्तर्क्रिया जस्ता गतिविधिहरूले मेलालाई अझ आकर्षक र जीवन्त बनाएका छन् ।

चौधरी फाउन्डेसन अन्तर्गतको उन्नति कल्चरल भिलेज पनि स्टल नम्बर A2 बाट विशेष उपस्थितिसहित सहभागी भएको छ । यसले जीवन्त माटोका भाँडाकुँडा र प्राकृतिक फाइबरका सामग्री निर्माणको प्रदर्शन, परम्परागत हस्तकला प्रदर्शनी, खरिदकर्तालाई ‘उन्नति सांस्कृतिक संग्रहालय’ भ्रमणको निःशुल्क टिकट, साथै छुटसहितको सेवा सुविधा प्रदान गरिरहेको छ ।

उन्नति कल्चरल भिलेज नेपालको आर्थिक वृद्धि, सांस्कृतिक सम्पदा र परम्परागत ज्ञानको संरक्षण तथा विकासमा केन्द्रित संस्था हो । यसको सहभागिता नेपाली कला, हस्तकला, नृत्य, संगीत, खाना, भाषा र बस्तीजस्ता पुराना परम्परालाई जगेर्ना गर्दै नयाँ पुस्तामा पुनःजीवन दिने उद्देश्यका साथ गरिएको हो ।

आयोजककाअनुसार यो मेला नेपाली समाजमा बढ्दो महिलाको उद्यमशील क्षमता, नवप्रवर्तनशील सोच र मौलिक उत्पादनप्रतिको चासोलाई उजागर गर्ने ऐतिहासिक अवसर बनेको छ । सहभागी र दर्शकको उत्साहले भविष्यमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र समावेशी हुने स्पष्ट संकेत दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *