काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ)लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।
चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।






