एआईको माध्यमबाट नाफा कमाउन सिकाउने भन्दै एप डाउनलोड गर्न लगाएर यसरी लुटियो लाखौं रकम

काठमाडाैं । नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो।

सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा आएको नेप्से एआई नामक एपको विज्ञापन देखिएको र त्यसलाई डाउनलोड गर्दा विभिन्न बैंक खातामा रहेको उक्त रकम गायब भएको उजुरीकर्ताले प्रहरीलाई जानकारी दिएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले बताए। यस्ता उजुरीहरू थुप्रै आएको उनले उल्लेख गरेका छन्।

व्युरोले सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन आउने गरेको र त्यस्ता एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने गरेको जानकारी दिएको छ। त्यसकारण यस्ता एप डाउनलोड गर्दा विशेष ध्यान पुर्‍याउन व्युरोले आग्रह गरेको छ।

व्युरोले गुगल एप स्टोर र आइओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ। त्यस्तै टु फ्याक्टर अथेन्टिकेशन कोड राख्न, बेलाबेला पासवर्ड परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएको विज्ञापनको तथ्य बुझेर मात्र गर्ने, एनी डेस्क र टिम भ्युअरजस्ता रिमोट एक्सेल अरुलाई नदिन आग्रह गरेको छ। त्यस्ता घटना घटेको थाहा पाए प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *