काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक वर्षमै ४ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणले मुलुकको कुल सार्वजनिक ऋणभार २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँमा पुर्याएको छ ।
गत आव २०८०/८१ को अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ थियो। चालु वर्षमा थपिएको २ खर्ब ३१ अर्ब ८ करोडको ऋणभारसँगै आर्थिक बोझ झनै बढेको छ । गत आव सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ९२ अर्ब ४८ करोड खर्च गरेको छ ।
कुल ऋणभारमध्ये आन्तरिक ऋणको हिस्सा १२ खर्ब ६३ अर्ब ६ करोड रहेको छ भने बाह्य ऋण १४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। आन्तरिक ऋणको हिस्सा ७२.४६ प्रतिशत रहेको छ, जसबाट स्पष्ट हुन्छ कि सरकारले विदेशीभन्दा बढी घरेलु स्रोतहरूमा निर्भरता बढाएको छ ।
सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा मात्र ३ खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको छ। यो चालु वर्षको कुल बजेट विनियोजनको ९०.०१ प्रतिशत हो।
एक वर्ष अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ३ खर्ब ६२ अर्ब ५९ करोड खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको तुलनामा ९०.०१ प्रतिशत हो । यस आवमा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड खर्च गर्ने लक्ष्य राखेको थियो ।
हाल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४३.७१ प्रतिशत पुगेको छ। आन्तरिक ऋण जीडीपीको २२.१४ प्रतिशत र बाह्य ऋण २४.५६ प्रतिशत छ।
जीडीपीका आधारमा कुल ऋण सेवा ५.९४ प्रतिशत हो । यस आवमा सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ४३ अर्ब ९१ करोड र ब्याज भुक्तानीमा ६० अर्ब २७ करोड खर्च गरेको छ । वाह्य ऋणको साँवा भुक्तानीमा ४८ अर्ब ५६ करोड र ब्याज भुक्तानीमा ९ अर्ब ८३ करोड खर्च भएको छ । यस वर्ष साँवा खर्च २ अर्ब ९२ अर्ब ४८ करोड र ब्याज खर्च ७० अर्ब ११ करोड देखिएको छ ।
२०७८ को जनगणना अनुसारको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८लाई आधार मान्दा हाल प्रत्येक नेपाली नागरिकको भागमा पर्ने ऋणभार ९१ हजार ५ सय ३४ रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको अन्त्यमा ८३ हजार ६ सय ११ रुपैयाँ थियो ।
सरकारले चालु वर्षमा ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य लिएको थियो । भ्यालुएसन एडजस्टमेन्ट बन्डबाहेक आन्तरिक र वाह्य ऋण ४ खर्ब ५५ अर्ब ३९ करोड उठाइएको छ । यस वर्ष सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । यसमध्ये असार मसान्तसम्म ३ खर्ब २९ अर्ब ९९ करोड अर्थात् लक्ष्यको शतप्रतिशत ऋण उठाएको छ ।
यस आव २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य लिइएको थियो । यसमध्ये १ खर्ब २५ अर्ब ३९ करोड उठेको छ । वाह्य ऋण भने लक्ष्यको ५७.७९ प्रतिशतमात्र उठेको छ । ऋण प्राप्तिमध्ये आन्तरिक ऋण हिस्सा ७२.४६ प्रतिशत र वाह्य ऋण हिस्सा २७.५४ प्रतिशत छ ।






