हिमालयन बैंकको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडाैं । हिमालयन बैंकको एफपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा मंगलबार बिहान एफपिओ गोलाप्रथामार्फत बाँडफाँट भएको हो।

यसमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यसमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी भएको ९ कित्ता सेयर सोही लगानीकर्तामध्ये २० कित्ताका लागि आवेदन दिनेहरूमा बाँडफाँट गरिएको छ।

यसअनुसार ९ जनाले थप एक कित्ता अर्थात् ११ कित्ताका दरले सेयर पाएका छन्। बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म कुल उक्त एफपिओ बिक्री गरेको थियो। बैंकले सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्‍याउन १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा ५७ रूपैयाँ थप गरी जम्मा १५७ रूपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ जारी गरेको हो।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रूपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपिओ जारी गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *