काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। यस कार्यक्रमअन्तर्गत नेपाललाई दिइने ५५ करोड अमेरिकी डलर अनुदान निरन्तर रहने औपचारिक जानकारी एमसिसीले हालै अर्थ मन्त्रालयलाई पत्रमार्फत पठाएको हो।
यसअघि असार १८ गते मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए० ले अमेरिकाले अनुदान निरन्तरता दिने निर्णय गरेको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यतिबेला अमेरिकी पक्षबाट अनुदानको मूल्यांकन प्रक्रिया अझै सम्पन्न नभए पनि कार्यक्रमलाई अघि बढाउन अनुमति दिइएको थियो। अब भने तीन सातापछि अमेरिका सरकारले औपचारिक पत्र पठाएर अनुदान निरन्तर रहने पुष्टि गरेको हो।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माका अनुसार अब एमसिसी परियोजनाहरू अमेरिकाबाट प्राप्त अनुदानकै भरमा निर्माण गरिनेछन्। उनका अनुसार एमसिसीले शुक्रबार पठाएको पत्रमा परियोजनाको समिक्षा सम्पन्न भइसकेको उल्लेख गरिएको छ, जसले अनुदान निरन्तरता सुनिश्चित गरेको हो।
एमसिसी परियोजनाअन्तर्गत ४०० केभी क्षमताका चारवटा प्रसारण लाइन (कुल ३१५ किलोमिटर), तीनवटा सबस्टेसन र विशेष मर्मत आवश्यक रहेका दुईवटा सडक (दाङ क्षेत्रको ४० किलोमिटर सडक र मुग्लिन–नारायणगढ खण्ड) समावेश छन्। प्रमुख प्रसारण लाइनहरूमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किलोमिटर), रातमाटे–न्यु दमौली(९० किलोमिटर), न्यु दमौली–न्यु बुटवल (९० किलोमिटर), र न्यु बुटवल–नेपालरभारत सीमा (१८ किलोमिटर) रहेका छन्।





