काठमाडाैं । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ । बैंकले ४२ करोड बराबरको रु.५० रुपैयाँ दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नयाँ नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि बोलपत्र आह्वान गरेको हाे ।
इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्नेछ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख छ ।
यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४६ अमेरिकी डलर, १२६ युरो र १०९ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।







