कांग्रेसका पूर्वसांसद चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

काठमाडौं । विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।

चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो । गत २८ मंसीरमा उनीमाथि मुद्दा दायर भएको थियो । उनी संसद्‌का अर्थ समितिका निवर्तमान सभापति समेत हुन् ।

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।

आठ करोड ५६ लाख रुपैंयाको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैंया मात्रै बैध रुपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ । अख्तियारको दाबी अनुसार, उनले ३ करोड ६८ लाख रुपैंया गैरकानुनी आर्जन गरेका थिए, अख्तियारले त्यसैलाई बिगो कायम गरेको थियो ।

अख्तियारले सन्तोषसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

उनी जेठ, २०७४ देखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *