काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा नियमकीय पालना नगर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक जरिबानासहित सचेत गराएको हो ।
राष्ट्र बैंकको कार्बाहीमा पर्ने एनआईसी एशिया बैंक रहेको छ। बैंकले ऋणीबाट बढी ब्याज असुली गरेको, कर्जा सम्झौतामा समावेस गर्नुपर्ने आवश्यक विवरण नसमेटिएको तथा ऋणीलाई ब्याजदर परिवर्तनको जानकारी नदिएर आँफु खुसी ब्याजदर बढाएको भेटिएको छ। बैंकको यस्तो कार्य पारदर्शिता तथा ग्राहकको हकहित विपरीत जाने भन्दै राष्ट्र बैंकले बैंकका सिईओ रोशन कुमार नेउपानेलाई सचेत गराएको हो ।
त्यसैगरि राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनललाई पनि कारबाही गरेको छ। राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलको करार सम्झौता संशोधन गरी उनको सेवा सुविधा वृद्धि गरेको भेटिएपछि कारबाही गरिएको हो । त्यस्तै, फास्ट ट्र्याक लोन अन्तर्गत कर्जाको सदुपयोगबारे आन्तरिक लेखा परीक्षण नगरेको, ब्याजदर अन्तर गलत ढंगले गणना गरेको, नयाँ कर्जा दिएर पुराना कर्जा र ब्याज चुक्ता गरेको, जमानतको समयमा भुक्तानी नगरेको लगायतका गम्भीर त्रुटिहरू भेटिएको राष्ट्र बैंकले कारबाहीमा उल्लेख गरेको छ ।
बैंकले तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ समेत गरेपछि सिटिजन्स बैंक सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै, पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भेटिपछि भन्दै राष्ट्र बैंकले ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ । फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म न्यूनतम मौज्दात नबनाएको पाइएपछि राष्ट्र बैंकले आर्थिक जरिवाना तिराएको हो ।
त्यस्तै , गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कर्जा नोक्सानीको वर्गीकरणमा त्रुटि गरेको, बक्यौता असुल गर्न थप कर्जा प्रवाह गरेको लगायतका विषयमा समस्या देखिएको भन्दै सीईओलाई सचेत गराइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्था विपरीत संस्थाले वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारणसभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचन प्रक्रियामा नगएको र साधारणसभा सकिएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको पाइएपछि सञ्चालक समिति अध्यक्ष तथा सदस्यलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।





