काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ।
तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो। सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको सावाँ भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन्।
प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ।





