काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइ दिएको छ ।
गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।
यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ ।
विगतमा बैंकहरूले सेयर धितो कर्जाका लागि धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्य-जुन थोरै हुन्छ-त्यसको ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था थियो । उक्त कर्जानीति यथावत् राखिँदै कर्जाको सीमा भने उल्लेखनीय रूपमा बढाइएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म (जेष्ठ मसान्तसम्म) सेयर धितो कर्जा प्रवाह १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।






