काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीले स्पेनमा १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको र स्पेनस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको जानकारी दिएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । सो अवसरमा नेपाल–स्पेन सम्बन्ध विस्तार तथा आपसी सहयोगका विषयमा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर, सन् २०१८ मा मात्र स्पेनमा नेपालले आवासीय दूतावास स्थापना गरेको हो ।
हाल नेपालमा स्पेनको दूतावास नभएकाले दिल्लीस्थित स्पेन दूतावासले नेपाल सम्बन्धी काम सम्हाल्दै आएको छ । हाल स्पेनमा करिब २० हजार नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान छ ।







