

वीर अस्पतालका १२ स्वास्थ्यकर्मी लामो समयदेखि विनाजानकारी हाजिर नभएको पाइएको छ । विनाजानकारी स्वास्थ्यकर्मीहरु गायबभएपछि पछि अस्पताल प्रशासनले खोजी सुरु गरेको छ ।
अस्पतालले आइतबार १२ जनाको नामसहित सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ । विनाजानकारी अस्पतालमा हाजिर नहुनेमा एक चिकित्सक, नौ स्टाफ नर्स र दुईजना अनमी छन् ।
अस्पतालका रजिष्ट्रार डा. सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तह) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल विनाजानकारी अस्पतालमा हाजिर भएका छैनन् ।
यस्तै, सोही तहका स्टाफ नर्सहरू सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी पनि लामो समयदेखि बिनाजानकारी अनुपस्थित रहेको अस्पतालले जनाएको छ ।
यसरी हराउनेमा छैटौँ तहका अनमी साहिदा सुब्बा र अनिता बसेल पनि छन् । उनीहरू सबै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका स्थायी कर्मचारी हुन् ।
उनीहरूलाई सूचना जारी भएको ३० दिनभित्र उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावलीअनुसारको कारबाही हुने सूचनामा उल्लेख छ ।


अर्थ सन्जाल