रौतहट बम काण्डमा मारिएका पिन्टुका बुवाले दिए न्याय परिषद्‌मा उजुरी, न्यायाधीशलाई कारबाही गर्न माग

काठमाडौँ । अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ ।

बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपुतले आलमलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्न माग गर्दै आज न्याय परिषद्‌मा उजुरी दिएका हुन् । मृतक पिन्टुका बुवाले न्यायाधीशद्वय थारु र महर्जनले इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा नगरी बदनियत पूर्वक आलमसहितलाई सफाइ दिएको भन्दै उजुरी दिएका हुन् ।

उच्च अदालत वीरगञ्जले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिएको थियो । उक्त फैसलाको चौतर्फी आलोचना भइरहेको छ ।

रौतहट जिल्ला सरकारी वकिल कार्यालयले यस मुद्दाको अभियोजन गर्ने क्रममा ८२२ पृष्ठको प्रमाण कारण सहितको अभियोग पत्र दर्ता गराएको थियो । करिब तीन सय पृष्ठभन्दा माथि अदालतबाट बुझिएका कारण तथा बयान र बकपत्रमा उल्लेख थियो । सरकारले ३ र प्रतिवादीले उच्चमा २ वटा पुनरावेदन निवेदन दिएकोमा १२०० पृष्ठको मिसिल तयार भएको थियो । उक्त मिसिल समेत अध्ययन नगरी ४ घण्टाको सुनुवाइको अवधिमा आलमलाई बदनियतपूर्ण ढङ्गले सफाइ दिएको उजुरीमा उल्लेख छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *