काठमाडौँ । गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सांसद ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरलगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।
आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको अख्तियारको आरोप छ। उनले प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको बताए।




