राजीनामा दिने मुडमा छैनन् गृहमन्त्री, संसदमै जवाफ दिने तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणको चपेटामा परेका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त प्रकरणबारे प्रश्न उठेपछि मन्त्री लेखकले संसदमै जवाफ दिने तयारी गरेका हुन्।

समितिमा विपक्षी सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको अनियमितताको विषयमा सरकारकै गृहमन्त्री विवादमा तानिएको भन्दै राजीनामा माग गरे। यसअघि सत्तापक्षमै रहँदा यस्ता मुद्दामा राजीनामा माग गर्ने परम्परा रहेको सम्झाउँदै विपक्षीहरुले लेखकको नैतिक जिम्मेवारीको प्रश्न उठाएका थिए।

तर, गृहमन्त्री लेखकले समितिमा जवाफ दिनुभन्दा संसदमा औपचारिक रुपमा सबै सांसदहरुसामु आफ्नो पक्ष राख्ने उचित हुने बताए। उनले भने, “यदि यो समिति मात्रको चासो हुन्थ्यो भने म यहीं जवाफ दिई सक्थेँ। तर, यो विषय संसदका सबै सदस्यहरुको चासोको विषय भएकोले म हाउसमा बोल्न चाहन्छु। सबै प्रश्नको जवाफ संसदमै दिनेछु।”

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री लेखक भने जवाफ दिन तयार रहेको भन्दै राजनीतिक वातावरण बनाउन विपक्षीहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *