काठमाडौँ। गृह मन्त्रालयले भिजिट भिसा प्रकरण तथा गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको संलग्नता नरहेको दाबी गरेको छ। शनिवार मन्त्रालयका प्रवक्ता एवं सहसचिव छवि रिजालले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
शनिबारै गृहमन्त्री रमेश लेखकले आफू काठमाडौँ पुगेपछि विज्ञप्ति निकाल्ने र आफू भने दुईचार दिनमा यो विषयमा बोल्ने बताएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको भेटिए राजनीति छोड्ने समेत बताएका थिए।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको छ। गृहमन्त्री लेखकको निर्देशनमा भट्टराईलाई विमानस्थल अध्यागमनको जिम्मवारी दिइएको भन्दै उनको नाम यस प्रकरणमा जोडिएको छ।







