मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीति छोड्छु: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको भेटिए राजनीति छोड्ने बताएका छन्।

शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो हातबाट कुनै गलत काम भएको भए राजनीति छोड्ने बताएका हुन्।

‘जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ।’ उनले भने।

यस विषयमा आफू काठमाडौँ पुगेपछि मन्त्रालयले विज्ञप्ति निकाल्ने र दुई चार दिनमा आफै पनि केही कुरा बोल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । भिजिट भिसा प्रकरणमा आफूले खोजी गरिरहेको उनको दाबी छ।

उनले भने,’भिजिट भिसा प्रकरणमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई–चार दिनमा आफैं पनि केही कुरा बोल्छु। त्यसो हुनाले त्यतातिर अहिले म धेरै बोल्दिनँ।’

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको छ। गृहमन्त्री लेखकको निर्देशनमा भट्टराईलाई विमानस्थल अध्यागमनको जिम्मवारी दिइएको भन्दै उनको नाम यस प्रकरणमा जोडिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *