नौ महिनामा भित्रियो झण्डै १२ खर्ब रेमिट्यान्स

काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यानस) १० प्रतिशतले वृद्धि भएर ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि दर १७.२ प्रतिशत मात्रै थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको तथ्यांकमा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *